नारीभित्र छताछुल्ल रहेको भावनाको कथाः रेप नम्बर ……….(भाग २)

Egaurishankar Story

नवराज शिवाकोटी, अनाम

अघिल्लो अङ्क (भाग १) बाट क्रमशः

कोठामा सबै बसेका छन् । म पुगेपछि सबै मेरो मुखमा हेर्न लागे । नारी स्वभावको कारणले होला म केही लजाएँ । मेरो यो लजाई लाई के ठान्यो कुन्नी काकाले लिएर आएको एक पात्र पनि केही लजायो । मैंले सोचें मेरा लागि ल्याएको मान्छे यही हुनु पर्छ ।

केही क्षणको निस्तब्धतापछि काकाले आफ्नो सालाको बखान झिके । विदेश गएर आएको, टन्न पैशा कमाएको शहरमा घर भएको आदि आदि । मलाई भने मेरो विदेश गएको साथीको मात्र सम्झना आइ रहेको थियो । बयान गरेर थाके छन् क्यारे मेरा काका । त्यस पछि उनले भने, “ छोरी तिम्रो विचार के छ ? ”

मैले दुई वर्ष अब विहे गर्दीन पढाइ नसकी भनें । काकाले क्रोधित अनुहार लगाए । आफूलाई जन्म दिने आमाको अनुहार हेरे उनको अनुहारमा पनि क्रोध मिश्रीत पिडा थियो । बाजे बज्यै पनि नमिठो अनुहार लगाई रहेका थिए । रोगी मेरा बाबु पनि मलाई क्रोधित भएर हेर्दै थिए । मलाई पनि रिसउठ्यो तर केही बोलिन । निक्कै बेरको सन्नाटा पछि हजूरबाले भने,
“नानी तेरै भविष्यकोलागि हो । उमेर गएपछि केटा पाइन्न राम्रोसँग सोच नत्र पछुताउलीस ।”

हजूरबाका आँखामा हेरें आँखामा पानी मरिसकेका मेरा हजूर बा को पनि चाहना त्यही केटासँग विहे गरोस भन्ने थियो । आँखिरमा सोचौंला भन्दै म त्यो जमातबाट बाहिरिएँ । उनीहरु निक्केै बेर कुरा गरी रहे । म कोठामा गएर रुँदै उस्लाई फोन गर्न लागें । ऊ पनि फोनमानैं रुन लाग्यो । बल्ल बल्ल स्कलरसिप मिलाएर विदेश गएको ऊ पनि फर्कन सक्ने अवस्था थिएन ।

म उसलाई फोन गरेपछि निक्कैे बेर रोएँ । भोलि विहान मलाई फेरि कचकच हुने छ । यो भन्दा बरु यो रातनै कहिल्यै नसकिए हुन्थ्यो जस्तो लाग्यो । तर मैले भन्दैमा के रात नसकिएला त ?

भोली पल्ट विहानअवेर सम्म निदाएछु । आमाले विहान चिया खान झक्कझकाउँदा पो विउँझिएँ । मैंले चिया खाँदै गर्दा आमाले खाना बनाइसक्नु भएछ । म तल्लो तलामा आउँदा त उनीहरु खाना खान लागेका थिएँ । खाना खाइ सकेपछि उनीहरु जानलागे । जाने बेलामा काकाले केही रिस मिसिएको आवाजमा भने,

“छोरी राम्रोसँग सोच है । हामी अब एक महिना पछि आउँछौं मंशिरमा विहे गर्नु पर्छ ।” म केही बोलिन ।
उनीहरु गएपछि मलाई लाग्यो अब भने म बधिकहरुको हातबाट बाचेँ । तर नियतिलाई कहाँ मञ्जुर थियो र ? अब घरको शान्ति भंग भयो । जतिखेर पनि घरका मानिसहरु मलाई त्यही पात्रसँग विहे गर्न कर गर्नलागे । म अश्विकार गर्दै गएँ । यो क्रम निक्कै दिनसम्म नरोकिए पछि सबै मलाई धम्किदिनलागे । म सहनैं नसक्ने अवस्थामा पुगें । म के गरौं ? कहाँ जाउँ ? मेरो मान्छे त विदेशमा छ । मेरो कुरा सुन्न र भावन बुझ्न परिवारका मानिस तयारनैं छैनन् । म निरास भएँ । काका फोनबाट धम्क्याउँदै छन् । उनी आउने दिन नजिकिन लाग्यो । मेरो भनेको मानिस पनि कुनै हालतमा पढाइ नसकि नआउने भयो । आवस पनि कसरी । म उसलाई पनि दोष दिन्न ।

म जीवन देखिनैं निरास हुन लागें । खाने बस्ने सुत्ने उठ्ने मेरा दिन चर्यामा परिवर्तन आउन लाग्यो । अब त आमा बाबु पनि मलाई शत्रु जस्तै लाग्न लाग्यो । उनीहरु आफूले जन्माएको अधिकार स्वरुप यो शरीर कसैलाई भोग गर्न दिन उद्धत थिए ।
एक रात खाना खाएपछि सबै निदाए । जुन लागेको थियो । म एक्लै बाहिर निष्कें । जड्याहाको विगविगी छ । तै पनि मलाई डर लागेन । म मुल बाटोमा निष्के । किन निष्के थाह छैन । एक पटक झसंग भएँ । कतै कुनै जड्याहाले केही गर्यो भने…..? फेरि तत्क्षण लाग्यो आँखिर मैले जीवनम अनिच्छित मान्छेकी स्वास्नी बनेर बाँच्नु पर्ने नैं भयो । अब एकछिन कुनै जँड्याहाले अंगालोमा बाँध्यो भने पनि के होला र ? म सरासर आगाडि बढें खोला तर्फ । बाटोमा कोही भेटीएन । रातको १२ बजेछ । तर किन आज डर पटक्कै लाग्दैन ।

खोलाको कल कल बग्ने पानीलाई हेरें । अविरल बगिरहेछ । पानी छोएँ चिसो छ । हेरें मानिसको जीवन र यो पानीमा कति समानता छ । पानि कहिले झरना कहिले खोला अनि कहिले नदी र कहिले समुद्र । कहिले सफा अनि कहिले लेदो । उ सँगको सामिप्यता हुँदा मेरो जीवन मलाई संलो पानी जस्तो लाग्थ्यो । लाग्छ अब मेरो जीवन पनि धमिलो बन्दै छ । मेरो जीवन ढलजस्तै बन्दा मेरा परिवारका सदस्य खुशी हुने छन् ।

निक्कै बेर पछि म फर्कनलागें मेरा बाबुको घर तफर्, जुन घरमा म जन्मिएँ हुर्किएँ, माया पाएँ अहिले त्यहीँबाट फालिन लागि रहेको छु । बाटो नजिक जंगल थियो । अचानाक एक आकृति देखियो । म चिच्याएँ । त्यो आकृति पनि केही हच्कियो र लरबरीएको स्वरमा भन्यो किन कराएकी म पनि तमान्छे नैं हो । अलिकति पिएको त हो नि । स्वर चिने चिने जस्तो लाग्यो तर ठम्याउन सकिन । मलाई के गरौं गरौं लाग्यो तर जे त होलाभन्दै अगाडि बढें । लाग्यो त्यो आकृति मलाई पर्खेर बसेको थियो ।

जब म त्यसको नजिक पुगें उसले मेरो हात च्याप्प समात्यो । म भस्किएँ । उस्ले सोध्यो किन अघि चिच्याएको ? मैंले जवाफ दिइन हात छुटाउन बल गर्नलागें । उस्ले छोडेन । मैले चिनेकै मानिस रहेछ । आँखिरमा मैंले उस्को हात नराम्रोसँग टोकिदिए । उस्ले छोड्यो म दौडिएँ । उस्ले लखेट्न लाग्यो तर भेट्न सकेन । म दौडदै घर पुगें । स्वास बढेर आयो । कसो नसिध्याएको ? म झण्डैं बलत्कृत भएँ । भक्कानिएर रुन मन लाग्यो तर रुन पनि सकिन । किन कि यसले त मलाई एकै छिन सास्ति दियो तर मलाई जीवनभर सास्ति दिने तयारी हुँदैछ । यसले यति गर्न खोज्दैमा मैले रुन ठिक होला र ? बलात्कारै गरेको भए पनि उस्ले त एकै छिन कष्ट दिने न थियो तर यहाँ त बाँचुञ्जेल मलाई बलात्कार गराइरहन मेरा परिवार नैं लागेका छन् ।

अब काका आउन एक दिन मात्र बाँकिछ । बेलुका फोन गरेर भने,
“ हेर छोरी मैले भनेको केटासँग विहे गरिनस भने तेरो र मेरो कुनै सम्बन्ध रहने छैन । अरुसँग विहे गरिस भने म तँलाई पनि बाँकी राख्दिन र तेरो त्यो केटालाई पनि जिउँदो राख्दिन ।”

कति सजिलै भनेका मेरा काकाले । जीवन त मैंले भोग्ने हो नि । मेरो जीवनको कसरी उपयोग गर्ने के मलाई अधिकार छैन ? अन्तिम पटक उसलाई फोन गरें ऊ बोल्न सकेन । मैंले पनि के के भनें हेक्का रहेन । मैंले ठानें ऊ सँगको सम्बन्धको अब अन्त्य हुँदै छ ।

भोली पल्ट बेलुका काका आइपुगे । उनीसँग थियो मलाई बलात्कार गराउनकोलागि ठिक पारिएको पात्र । मलाई अब थाह भयो कि अब म केही गर्न सक्दिन । लाग्यो म अब कोमामा पुगेको विरामी जस्तै बनेको छु । अस्तित्व विहिन जीउँदो लाश । बेलुका परिवारका सबै सदस्य मिलेर मलाई फेरि केटा मन प¥यो हैन भनेर सोधे । म केही बोलिन । साह्रै कर गरेपछि मैंले रुँदै भने जे मनलाग्छ त्यही गर्नुं भनें । मलाई लाग्यो मेरा बाबु आमा तथा मेरा परिवार मेरो विवाह गर्न होइन मलाई कुनै पुरुषलाई जवरजस्ती बलात्कार गर्ने अनुमति दिँदै छन् । बाबु आमा देख्दा पनि घृणा लाग्न लाग्यो । आफूूले जन्माएको छोरीलाई विहेको नाममा कुनै पुरुषलाई निर्वाध रुपमा बलात्कार गर्ने अनुमति दिनलागेकोमा ।
विहेको दिन समेत उनीहरुले निधो गरिसके छन् । विहे गर्ने भनेको केटाले भोली पल्ट मलाई गहना लुगा के के चाहिन्छ भनेर सोध्दै थियो । मैले केही चाहिन्न भनें उस्ले अलि नमिठो मुख लगायो ।

विहेको दिन नजिकिन लाग्यो मैले सबैसँग बोल्न छाडे । आमा कहिले काहीँ रुँदै सम्झाउनु हुन्थ्यो । म केही जवाफ दिन्नथें । मलाई आफ्नै जन्म दिने आमा प्रति पनि अथाह घृणा लाग्न लाग्यो । मैंले मनमनैं प्रतिज्ञा गरें विहे भएपछि म पूनः यस घरमा फर्किएर आउने छैन ।

विहेको दिन आयो सबै दंग थिए, धनि ज्वाइँ पाएकोमा । मलाई भने दुलहाको अनुहार हेर्न मन थिएन । ऊ घरी घरी मलाई पुलुक्क हेथ्र्यो । मलाई लाग्थ्यो ऊ मलाई असाध्यै मन पराउँछ । तर उसले मात्र मन पराएर के गर्नु । मैंले उसलाई मन पराउन सक्ने अवस्था थिएन । विहे सकियो मलाई आमा बाबुले अन्माएर पठाउन लागे उनीहर आँखाबाट आँशु झार्दै थिए । तर मेरो आँखाबाट भने एक थोपा आँशु पनि खसिरहेको थिएन । सायद म अब जड मुर्ति बनिसकेकी थिएँ । आँशुहरु सबै सुकि सकेका थिए । केवल मनमा आमाबाबु अनि काका प्रति तिब्र घृणा मात्र थियो । म केही बोलिन । काका पनि अँध्यारो मुख लगाउँदै थिए । तर मलाई लाग्यो छोरीलाई बलात्कार गराउन सकेकोमा उनी मख्ख छन् । बलत्कारिका मतियारहरु !

विहे माइतिघरबाट अन्मियो । बाजा पनि बजाइँदै थियो । म बलत्कृत हुन लागेकोमा खुशी मनाइरहेका थिए सबै जना । मलाई बाटो भरी यस्तै लागि रह्यो । म बलत्कृत बन्न लागेको खुशीयालीमा दुलहाको घरमा निक्कै ठूलो भोजको आयोजना गरिएको रहेछ ।

म मेरो भनिएको घरमा भित्रिएको दिन देखि बलत्कृत हुन सुरु गरें । जो मेरो श्रीमान हो, ऊ मलाई माया पनि गर्छ । म पनि माया गरेको अभिनय गर्छु तर मेरो मनले उस्लाई आज यति धेरै वर्ष वित्दा पनि श्रीमान स्वीकार गर्न सकेको छैन र जीवन भर गर्ने पनि छैन । मैले आफूलाइँ सँधै यौन दाशी मानिरहेको छु । विहेपछि म कहिल्यै माइत गइन । श्रीमानले निक्कै कर गर्दा पनि म जाँदै गइन । काका उनको सालाको घर भएकोले एक दुई पटक आए तर म बोलिन । त्यसपछि उनी पनि आउन छाडे । उसलाई पनि सायद अचम्म लाग्यो होला मेरो यस्तो ब्यावहार ले । तर जे सोचोस उस्ले, मेरा बाबु आमा मर्दा समेत पनि म माइत गइन । गाउँले र घरतिरकाले पनि मेरो निक्कै कुरा काटे रे !
छोरो जन्मियो मलाई खुशी लागेन बलात्कारको चिन्ह जस्तै लाग्यो । तर मानवीय नाताले उप्रतिको कर्तब्य निभाइ रहें । उसको विहे गर्ने बेलामा भने म अली सतर्क भएँ । केट केटी दुववैको इच्छा खुलस्त बताउन लगाएर दुवै सन्तुष्ट भएको बुझेपछि मात्र विहे गराइ दिएँ । लाग्यो एक छोरी मान्छेलाई बलत्कृत हुनबाट बचाएँ ।
अहिले जब बलात्कारको समाचार सुन्छु अनि मन एक तमासको भएर आउँछ । लाग्छ कम्तिमा यसको त चर्चा सम्म हुन्छ । कानुनले पनि थोर बहुत सजाय दिन्छ । तर म अनि म जस्ता नारी जाति जो जीवन भर बलत्कृत भएर बस्न बाध्य छन्

यसको चर्चा कहिँ हुदैन । भोग्नैं पर्दछ बलात्कारका अनन्त श्रृंखला जीवन रहेसम्म।

-nrs2028@gmail.com

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली