तीन दशकपछि विद्यालयको सपना पुरा, दंग अभिभावक, मख्ख शिक्षक

school11

चैत्र १५–भीमेश्वर नगरपालिकाको साखिने आधारभूत विद्यालयको भवन बनाउन दाता खोज्दै स्थानीय बासिन्दा तीन देशकदेखि भौंतारिए ।०५४ सालदेखि कक्षा सञ्चालन हुँदै आएको भवन जतिखेर भत्कन सक्ने जीर्ण अवस्थामा थियो । तर बलियो भवन बनाइदिने कोही निस्किएनन् । त्यही जोखिमयुक्त भवन पनि २०७२ को भूकम्पले पूरै भत्काइदियो । ‘शनिबार नभए भूकम्प अन्य दिन आएको भए अझ बढी क्षति हुने थियो,’ प्रधानाध्यापक राधाकृष्ण थापाले भने ।

बुधबार नौकोठे विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बताए । भीमेश्वर नगरपालिकाको बत्तीमुनिको अध्याँरोजस्तै बस्ती साखिनेमा रहेको विद्यालयमा भौतिक पूर्वाधार खतरायुक्त भएकै कारण विद्यार्थी संख्या घट्दै गएको थियो । भूकम्पपछि दाताको खोजीमा भौंतारिरहेका बेला नेपाल डनबस्को सोसाइटीले भवनहरू बनाइदिने वचन दियो । सोहीअनुसार निर्माण पनि भयो । नौकोठे उक्त भवन बुधबार हस्तान्तरण भयो । सुविधायुक्त विद्यालय भवन र कक्षा कोठाहरू बनेपछि अभिभावकले नजिकैको सामुदायिक विद्यालयमा छोराछोरी पठाउने अपेक्षा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाले बताए ।

भवनका लागि डनबस्को सोसाइटीले एक करोड ७१ लाख ७६ हजार सहयोग गरेको छ । सोसाइटीका रेक्टर एब्राहमले भीमेश्वर नगरका मेयर भरत केसीलाई चाबी दिएपछि भवन समुदायमा हस्तान्तरण भएको छ । उक्त अवसरमा मेयर केसीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि दाताहरूसँग सहकार्य गर्न तयार रहेको बताए । कान्तिपुर दैनिकले छापेको छ ।

समुदायमा हस्तान्तरण भएपछि अभिभावकहरूले भवनका सुरक्षित र व्यवस्थित कोठाहरू निरीक्षण गरेका थिए । स्थानीय अगुवा तथा अभिभावक नेत्रबहादुर बस्नेतले सुन्दर र व्यवस्थित कक्षा कोठाहरू पाएपछि विद्यार्थी संख्या बढ्ने बताए । अभिभावकको मागअनुसार कम्प्युटर सामग्री र गुणस्तरी शिक्षाका लागि जनशक्ति सघाउनेबारे छलफल भइरहेको डनबस्को सोसाइटीका कुलिगल अगस्टीले बताए ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली