दोलखाबासी र सर्वसाधारणको सेयर जेठभित्र निष्काशन गर्ने तामाकोशी आयोजनाको तयारी

Egaurishankar_Upper-Tamakoshi

बैशाख ११–स्वदेशी लगानीको माथिल्लो तामाकोशी आयोजनाले दोलखाबासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ ।  निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट वैशाखभित्र स्वीकृति प्राप्त भएमा जेठबाट स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर बिक्री खुल्ला गरिने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता जारी हुनेछ । यस्तै, सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री खुल्ला हुनेछ ।

स्थानीयलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ श्रेणीमा विभाजन गरेर सेयर वितरण गरिनेछ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्रलाई कम प्रभावितमा राखिएको छ । स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर खरिद गर्न आवेदन दिन सक्नेछन् ।  प्राप्त आवेदनका आधारमा सेयर बाँडफाँडको टुङ्गो लाग्ने कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षको सुरुमा स्थानीयलाई छुट्ट्याइएको सेयर जारी गर्ने तयारी गरे पनि स्थानीय तहको निर्वाचनपछि जिल्ला समन्वय समिति गठनमा भएको ढिलाई र धितोपत्र बोर्डको नियमावली संशोधन हुँदा समय लम्बिएको हो । यसअघि चैतभित्र सेयर जारी गरी वैशाखसम्म बाँडफाँड गर्ने योजना थियो । सुरुमा स्थानीय र पछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुनेछ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।

सञ्चयकर्ता, ऋण लगानी गर्ने संस्था, प्राधिकरणका कर्मचारी र स्थानीयका लागि सेयर जारी गर्न बोर्डबाट एकै पटक स्वीकृति लिइएको थियो । तर, रोल्वालिङ खोलाको पानी मिसाएर थप विद्युत उत्पादन गर्ने योजनापछि स्थानीय र सिभिल ठेकेदार सिनो हाइड्रोमा कार्यरत कर्मचारीले पनि सेयर पाउनुपर्ने भन्दै विरोध गरेका थिए । विरोधका कारण त्यतिबेला स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन रोकिएको थियो । समयमा निष्कासन नहुँदा कम्पनीको पुँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापनमा समस्या सुरु भएको छ । सेयर जारी गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ जम्मा गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाको हाल ९५ प्रतिशत काम सकिएको छ ।

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली