तामाकोशीमा माछा दन्तय कथा जस्तै !

 बैशाख २१- रामेछाप — ‘तामाकोसीको माछा हो रु’ माछाका पारखीले गर्ने प्रश्नमा मन्थलीका होटल व्यवसायी सुदीप देवकोटा सहज उत्तर दिन्छन्, ‘तामाकोसी कटाएर ल्याएको ।’
‘तामाकोसीमा माछा पाइन छोड्यो, आगन्तुक सबै तामाकोसीको माछाबारे सोध्छन्,’ देवकोटा भन्छन्, ‘तामाकोसीमा त माझीले पाउन छाडे, हामीले के पाउँथ्यौँ।’ ४ नदीले घेरिएको मात्र नभई नजिकै तामाकोसी बग्ने भए पनि मन्थलीमा तराईको माछा आउने गर्छ । तराईबाट आउँदा तामाकोसी कट्नैपर्छ । त्यही भएर देवकोटाले कथन बनाएका हुन््– ‘तामाकोसी कटाएर ल्याएको ।’ दशकअघिसम्म त्यहाँ बाक्लै माछा पाइन्थे। टिकाप्रसाद भट्टले कान्तिपुरमा समाचार लेखेकाछन् ।

कोसी किनारमा बसोबास गर्ने आदिवासी माझी मात्र हैन, महाजाल बोकेर तराईबाट आउने सिपालुले माछा मारेर बजार ल्याउँथे । अहिले त्यस्तो छैन । धेरैले माछा मार्ने कोसिस गर्छन् तर खाली हात फर्कन्छन् । रातभरि कोसीमा टाँगेर राख्ने टाँगोमा माछा पर्न छाड्यो । रहु, असला, कत्ले र बामजस्ता लोभलाग्दा माछा अचेल देखिँदैनन् । ‘माछा लोप भइसके, धेरै अवधि पानीमा जाल खेलाए पनि एकछाक पुर्‍याउन कठिन हुन्छ,’ धमिलिएको तामाकोसीमा माछा मार्न पुगेका गडुवारीका शंकर माझीले बताए । धमिलो पानीमा माछा बढी मार्न सकिन्छ भन्ने मान्यता छ । कोसीमा बाढी आएको गन्ध आएपछि थकौली र जाल बोकेर पुग्ने माझीहरूले धित मरुन्जेल माछा जम्मा गर्थे । अहिले उक्त कुरा एकादेशको कथाझैं लाग्न थालेको छ ।

तामाकोसीमा माछा मारेर जीविका चलाउने माझीहरू आजभोलि कोसीमा जानै छोडेका छन् । ‘पाइँदैन किन सास्ती गर्नु,’ माझी भन्छन्, ‘दिनभरि कोसीमा डुब्यो, जाल हान्यो थाकिन्छ तर छाक पुग्ने माछा बनाउन धौधौ छ ।’ दिनहँुजस्तो माछाको परिकार नटुट्ने माझीबस्तीमा अब कहिलेकाहीँ मात्र माछा भित्रिने गरेको उनले बताए । ‘कुनै बेला यस्तो पनि थियो, कराइ बसाएर कोसीमा माछा मार्न जाने,’ दुइ दशक तामाकोसीको किनार मन्थली घाटमा व्यवसाय गरेर बसेका रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्का भन्छन्, ‘छाक पुग्ने एकै छिनमा मार्न सकिन्थ्यो, ती दिन अब सपनाजस्तै भए, आजभोलि दिनभरि कोसीमा डुबुल्की मार्दा छाक पुग्ने माछा बनाउन सकिँदैन ।’ माछा मार्न गरिएको घातक प्रविधिले माछाको वंश विनाश ल्यायो । ब्याट्रीबाट करेन्ट प्रयोग गरी जोकोहीले माछा मार्न थालेपछि माछा नासिएका हुन् । परम्परागत जाल, पासो, खुँगा, छुट्टा, घोलेन, थकौली, टाँगोभन्दा पनि ब्याट्रीमा जोडिएको विद्युतीय लौरो पानीमा घुसार्दा माछाका भुरा ‘स्वाहा’ भएको खड्काको निष्कर्ष छ । माझीभन्दा पनि गैरव्यावसायिक व्यक्तिहरू माछामा लोभिँदा यो अवस्था आएको उनले बताए । ‘व्यावसायिक माझीको हात र उही पुरानो प्रविधिले माछा मारेको भए माछा यति चाँडै लोप हुँदैनथे,’ खड्काको दाबी छ ।

कोसीमा माछा पाइन छोडेपछि गडुवारी र कुनाउरीमा माछा पोखरी बनाइएका छन् । तामाकोसीको किनारका यी दुई पोखरीमा व्यावसायिक माछा पाल्न थालेपछि भने माझी पनि त्यही पोखरीको माछा खान थालेका छन् । ‘कोसीको कता पाउनु ?’ कुनौरीकी नानीमैया माझी भन्छिन्, ‘कोही पाहुना आयो भने पोखरीको माछा किनेर लाने गरेका छौं ।’ तामाकोसीमा मात्र हैन, माछाका लागि ख्याति कमाएको लिखु र सुनकोसीमा पछिल्लो दशक माछा लोप भएका छन् । असला माछाका लागि प्रसिद्ध लिखुको किनारको साँघुटारमा अहिले माछा पाइँदैनन् । लिखुको माछाको स्वाद लिन जिल्ला सदरमुकामबाट साँघुटारसम्म जाने बोइलर कुखुरा खाएर फर्कन्छन् । सुनकोसीको किनार भएर खुलेको बीपी राजमार्गमा यात्रा गर्ने धेरैको चाहना सुनकोसीको माछा खाने हुन्छ । मोटर रोकेर होटल र रेस्टुराँमा पस्ने यात्रुले सोध्ने पहिलो प्रश्न नै सुनकोसीको माछा खान पाइँदैन ? भन्ने हुन्छ। ‘सुनकोसीको पाइँदैन, हामीले ढाट्नु पनि भएन,’ खाल्टेका एक व्यवसायी भन्छन्, ‘त्यसैले हामी भन्छौ, सुनकोसीको पानीले धोएको छ ।’

पत्रपत्रिका

स्वास्थ्य / जीवनशैली